तिमी गएपछि
बेकार मन खोलेजस्तो भयो तिमी गएपछि आफ्नै आँखा पनि पराई लाग्यो तिमी गएपछि ।
जति मन फुकाएको थिएँ त्यति नै लाज भयो शब्दहरूले पनि मलाई छोडे तिमी गएपछि ।
मनको कुरा पोख्नु कमजोरी हो भन्थे सबैले मनका चोटले पनि यही पाठ पढाउँछन् तिमी गएपछि ।
सम्बन्ध टुटेको पीडा त सहन सकिन्थ्यो तर लाजले बाँच्नै गाह्रो बनायो तिमी गएपछि ।
सम्बन्धहरूदेखि डर लाग्न थालेको छ अचेल "किन?", ऐनाले समेत प्रश्न गर्यो तिमी गएपछि ।
मेरा आफन्त जब मेरो हालखबर सोध्छन् करले मुस्कुराउँदै झुट बोल्नुपर्छ तिमी गएपछि ।
कयौँ प्रयत्न गर्दागर्दै पनि प्रीति जोगाउन सकिनँ स्वार्थी छ जस्तो लाग्यो सारा संसार नै तिमी गएपछि ।