म फकत बसेँ।
तिम्रै सुनील उज्यालो मुटुभरि बोकेर बसेँ, तिमी आकाश भयौ म धर्ती भएर बसेँ।
जब तिमी दुई थोपा वर्षा बनी आएकी थियौ, म आजीवन तिनै पल... पलपल सम्झेर बसेँ।
तिमीलाई छुने रहरमा कैयौँ पर्वत उठाएँ, हरेक चोटलाई आफ्नै भाग्य सम्झेर बसेँ।
तिमी वर्षा बनी आयौ र चुपचाप फर्कियौ फेरि, म झ्यालबाट एक्लै तिम्रो बाटो हेरेर बसेँ।
तिमी निठुरी बतास भयौ उडी गयौ टाढा कतै, म भने बादलको आगमन पर्खेर बसेँ।
तिमी हिउँ बनी झर्यौ मेरा उजाड पर्वतहरूमाथि, पीडामा म पत्थरझैँ पग्लिन नसकी अडिएर बसेँ।
धर्ती र आकाशको दूरी कहिल्यै मेटिएन आखिर, म क्षितिजले देखाउने झूटो सपना केलाएर बसेँ।
तिमी टाढा दुलही बन्यौ जीवनको अर्कै मोडमा, म अँध्यारा रातहरूमा उज्यालो पर्खेर बसेँ।
'प्रशम' समयले सबै घाउ निको पार्छ भन्छन्, (तर खै...) म खरानी भइसकेपछि पनि बलर, जलेर, डढेर बसेँ।